
धनकुटा- बस्ती मुनिको जमिन धाँजा फाटेर पहिरो चल्न थालेपछि धनकुटाको महालक्ष्मी नगरपालिका २ स्थित छ्यालुङ लाक्टाङ गाउँका ७ घर पहिरोको जोखिममा परेका छन् ।
पहिरोका कारण छ्यालुङ लाक्टाङ गाउँ मुनि रहेको खेत बग्न थालेको छ । बस्ती मुनिको खेत, जङ्गल र अलैँचीवारिबाट सुरु भएको पहिरोले माथि रहेको बस्ती तान्ने जोखिम बढेको महालक्ष्मी नगरपालिकाका प्रमुख धुब्रराज रायले जानकारी दिनुभयो । एक साता सम्म परेको वर्षा पछि छ्यालुङ लाक्टाङ गाउँका १३ मध्ये उच्च जोखिममा परेका ४ घरलाई तत्कालै सुरक्षित स्थानमा सार्नु पर्ने अवस्था छ ।
यसैबिच महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज राय तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल सहितको जिल्ला विपदव्यबस्थापन समितिको टोलीले पहिरोग्रस्त छ्यालुङ लाक्टाङ गाउँको अनुगमन गरेको छ ।
अनुगमन पछि पहिरोको जोखिम क्षेत्रका स्थानीयलाई नजिकैको बालबिकास केन्द्रको भवनमा सार्ने निर्णय भएको महालक्ष्मी नगरपालिका प्रमुख ध्रुवराज रायले बताउनु भयो । पहिरो जान सक्ने स्थानमा रहेका तीन घर स्थानीयलाई भने सतर्क अवस्थामा रहन जिल्ला विपदव्यबस्थापन समितिले आग्रह गरेको छ ।